मोरङ । मोरङको रंगेली नगरपालिकामा एक युवतीको हत्या भएको छ । रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् । घटनापछि उनले आफैंले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति रंगेली नगरपालिका–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए । सोही क्रममा पति–पत्नीबीच घरेलु विवाद चर्किँदा घटना घटेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।
विवादका क्रममा मुकेशले कुटपिट गर्दै पत्नी अम्बिकाकुमारीमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कुको गम्भीर प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिए ।
पत्नीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कु प्रयोग गरी आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।







