काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको गरेको हो ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जेठ १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ ।
यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो ।
देशभर एक हजार ४२० र जापानमा एकसमेत गरी कूल एक हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।






