काठमाडौं। युक्रेनले रूसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन हमला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार भएको उक्त आक्रमणपछि प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।

आक्रमणका कारण तेल भण्डारण ट्याङ्कीमा ठूलो विस्फोट भएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ट्याङ्कीको विशाल ढकनी आकाशमा उडेको दृश्य देखिएको छ।

ADVERTISEMENT

यो तेल प्रशोधन केन्द्रमाथि तीन दिनभित्र भएको दोस्रो युक्रेनी आक्रमण हो। युक्रेनी ड्रोनहरूले रुसी हवाई प्रतिरक्षा प्रणाली छल्दै क्रेमलिनबाट करिब १६ किलोमिटर टाढा रहेको उक्त केन्द्रलाई निशाना बनाएका थिए।

ADVERTISEMENT

घटनापछि मस्कोको आकाश बाक्लो कालो धुवाँले ढाकिएको थियो। आक्रमणका कारण राजधानीका प्रमुख विमानस्थलहरूमा उडान सेवा प्रभावित भएको छ भने केही मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको बताइएको छ।

युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जालमार्फत आक्रमणलाई रूसविरुद्धको स्पष्ट सन्देशका रूपमा व्याख्या गरेका छन्। युक्रेनले पछिल्ला आक्रमणहरूले युद्धको दिशा आफ्नो पक्षमा मोडिँदै गएको दाबी गरेको छ।

ADVERTISEMENT

यता, क्रेमलिनले भने युक्रेनको दाबी अस्वीकार गर्दै युद्धक्षेत्रको अवस्था आफ्नो नियन्त्रणमा रहेको जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाबारे तत्काल कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

सन् २०२३ यता मस्कोमा बेलाबेलामा ड्रोन आक्रमण भए पनि यसपटकको आक्रमणले राजधानीको जनजीवन र यातायात व्यवस्थामा उल्लेखनीय प्रभाव पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।