इन्साइड वेल्थ न्युजलटरमा प्रकाशित एक प्रतिवेदनअनुसार, विश्वमा कम्तीमा ३ करोड अमेरिकी डलर सम्पत्ति भएका अति धनी व्यक्तिहरूको संख्या बढेर जुन महिनाको अन्त्यसम्ममा ५ लाख १० हजार ८१० पुगेको छ जसले यो वर्षको सुरुदेखिनै नवधनाड्यहरुको सख्यामा  ५.४% वृद्धिदर देखिएको हो। यो सम्पत्ति अनुसन्धान संस्था अल्ट्राटाले सार्वजनिक गरेको तथ्याङ्क हो।

अल्ट्राटाका अनुसार, यस समूहको कुल सम्पत्ति ५९.८ ट्रिलियन डलर पुगेको छ। तर, मिलेनियल्स र जेन-जी को हिस्सा अझै मात्र ८% छ। सबैभन्दा ठूलो हिस्सा ४५% बेबी बुमर पुस्ताले ओगटेको छ भने १९४५ भन्दा पहिले जन्मिएका साइलेंट जेनरेशनले २२% हिस्सा लिएका छन्।

तर यो शक्ति समीकरण छिट्टै बदलिँदैछ। अल्ट्राटाको अनुमान अनुसार, सन् २०४० सम्म पुग्दा मिलेनियल्स र जेन जेडको हिस्सा बढेर एकतिहाइभन्दा बढी हुनेछ। बेबी बुमर र साइलेंट जेनरेशनको हिस्सा दुई-तिहाइबाट घटेर २०% मा सीमित हुनेछ भने जेन एक्स ४५% हिस्सासहित नेतृत्वमा आउँनेछ।

अल्ट्राटाकी आधिकारी माया इम्बर्गका अनुसार, यो पुस्तान्तरणले धनी वर्गलाई लक्षित गर्ने सम्पत्ति प्रबन्धकदेखि लिएर कला व्यवसायी र गैर–नाफामुखी संस्थासम्म सबैमा ठूलो प्रभाव पार्नेछ।
उनले भनिन्, “१५ वर्ष लामो समय लाग्छ होला , तर त्यो त्यति लामो समय होइन। वातावरणमैत्री गाडीहरू अझै महत्वपूर्ण हुने हो कि? याचिंगमा मानिसहरुको कति रुचि रहला? यी सबै कुराहरुले  व्यवसायको नाफामा आउने दिनहरुमा ठूलो प्रभाव पार्छ।”

अल्ट्राटाका अनुसन्धान निर्देशक माईन शबानका अनुसार, पछिल्ला दशकमा ट्रष्ट  र पारवारिक ब्यबसाय मार्फत सम्पत्ति छिट्टै उत्तराधिकारीलाई हस्तान्तरण गर्ने प्रवृत्तिले युवा पुस्ताले चाँडै सम्पत्तिमा पहुँच पाएका छन्।
उनले भने, “अब तिनीहरूलाई परिवारका प्रमुखको मृत्य पर्खनैपर्दैन। उनीहरूले तत्कालै सम्पत्तिको प्रयोग गर्न सक्छन्।”

अल्ट्राटाको प्रतिवेदनले पुस्ताबीच सबैभन्दा ठूलो भिन्नता उनीहरूले अंगाल्ने उद्योग मार्फत सम्पत्ति कमाउन सक्ने अवसरहरुले  देखाएको छ। नयाँ पुस्तामध्ये करिब १५% ले आतिथ्य र मनोरञ्जन क्षेत्रबाट सम्पत्ति कमाएका छन्, जुन पुराना पुस्तामा ५% भन्दा कम छ। नयाँ पुस्तामध्ये करिब ९% ले प्रविधि क्षेत्रमा काम गर्छन्, जुन बेबी बुमरको तुलनामा दोब्बर हो। बैंकिङ र वित्त अझै सबै पुस्तामा प्रमुख भए पनि, नयाँ पुस्तामा यो २०% भन्दा कम छ, जुन औसतभन्दा १० प्रतिशत कम हो।

यसले प्रविधि कम्पनीहरूले धनी बनाएका उद्यमीहरू र सामाजिक सञ्जालबाट आम्दानी गर्ने इनफ्लुएन्सर तथा सेलिब्रिटीहरूको उदयलाई प्रतिबिम्बित गर्छ।

उमेरगत कारणहरूले पनि केही भिन्नता ल्याएको छ। नयाँ पुस्ताले परोपकारलाई कम प्राथमिकतामा राखेका छन्। उनीहरूको सम्पत्तिको चौथाई अचल सम्पत्ति र विलासी सम्पत्तिमा रहन्छ। उनीहरूको औसत सम्पत्ति बेबी बुमरको ५७ मिलियन डलरको तुलनामा ४४ मिलियन डलर मात्रै भएकाले अचल सम्पत्ति उनीहरूको पोर्टफोलियोमा ठूलो हिस्सा ओगट्छ।

शबानका अनुसार, “बेबी बुमरहरू सम्पत्ति घटाउँदैछन् भने नयाँ पुस्ता अझै किन्ने चरणमा छन्। उनीहरु पहिलो घर, ठूलो कार, वा पहिलो बिदाको घर किन्ने मनस्थितिमा छन्। यस प्रकारको जीवनचक्र नै फरक छ।”