लखनऊ, असोज १२ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। घटनामा ४६ जना घाइते भएका छन्।
राज्य सरकारले बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार टोलीले मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्।
बाढीको जोखिम बढेपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालयसमेत बन्द गरिएको छ। स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ।
लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बंगालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ। यद्यपि मंगलबारसम्म उत्तर प्रदेशका पूर्वी र पश्चिमी भागमा हल्का वर्षा जारी रहन सक्ने उनले बताएका छन्।
यसैबीच, बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ। त्यहाँ ७५ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।








