काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्‌गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास तीव्र पारिएको छ। विद्युत्‌गृह जाने मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा तथा ढुंगा हटाउने काम भइरहेको छ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै सुरुङभित्र निरन्तर अघि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावासमेत आएको उनले बताएका छन्।

ADVERTISEMENT

यसले सुरुङभित्र फसेका कर्मचारीहरू सकुशल रहेको हुनसक्ने आशा बढाएको घिसिङको भनाइ छ। उनका अनुसार विद्युत्‌गृहसम्म पुग्न अब करिब १०० मिटर दूरी बाँकी छ।

ADVERTISEMENT

स्याफ्रुबेँसीतर्फबाट सुरुङसम्म पुग्ने बाटो बनाउन स्केभेटर परिचालन गरिएको छ। आजसम्ममा स्केभेटर सुरुङसम्म पुर्‍याउने लक्ष्य रहेको र स्केभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने बताइएको छ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी खटिएका छन्।

ADVERTISEMENT

घिसिङले उद्धारमा खटिएका सबै टोलीको प्रयास सफल हुने र सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।