काठमाडौँ , अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार उनलाई अर्थ मन्त्रालयसँगै सामान्य प्रशासन मन्त्रालयको कार्यभार पनि तोकिएको हो।
पदबहालीपछि मन्त्री खनालले मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने निर्णय गरेका छन्।
मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले सेवाप्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। भ्रष्टाचार न्यूनीकरणलाई वर्तमान पुस्ताको प्राथमिक माग भएको उल्लेख गर्दै उनले त्यसअनुरूप काम गर्न जोड दिए। साथै, कर्मचारीको आत्मसम्मान जोगाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारमा संलग्न हुनेलाई कानुनअनुसार कडाइका साथ कारबाही गर्ने चेतावनी दिएका छन्।




