काठमाडौं, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांक (FII) को ताजा तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा सूचकांक ०.४७ पुगेको छ। यो आर्थिक वर्ष २०२१/२२ को ०.४० को तुलनामा उल्लेखनीय सुधार हो। यो सूचकांकले वित्तीय सेवाहरूको पहुँच, उपयोग र गुणस्तर मापन गर्छ, जसले ग्रामीण र वञ्चित समुदायमा वित्तीय समावेशीकरणको अवस्थालाई प्रतिबिम्बित गर्छ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशीकरण र उपभोक्ता संरक्षण विभागले ५५ सूचकहरूको आधारमा यो सूचकांक तयार गरेको हो।जसमा १५ सूचकांकले पहुँच , १५ सूचकांकले उपयोग र १५ सूचकांकले गुणस्तरको आयामलाई प्रतिनिधत्व गर्दछन छन्। उल्लेखित तथ्यांकअनुसार पहुँच सूचकांक: ०.३८ बाट ०.४७ पुगेको छ भने उपयोग सूचकांक: ०.४३ बाट ०.४९ पुगेको छ। यसैगरि गुणस्तर सूचकांक: ०.३६ बाट ०.४१ पुगेको छ।
यो तथ्यांकले बैंकिङ, डिजिटल भुक्तानी, बीमा र माइक्रोफाइनान्स जस्ता सेवाहरूको विस्तार र उपयोगमा सुधार भएको देखाउँछ। यद्यपि, गुणस्तर आयाममा अपेक्षाकृत कम प्रगति भएकोले वित्तीय साक्षरता, ग्राहक सन्तुष्टि र उपभोक्ता संरक्षणमा थप प्रयास आवश्यक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सूचकांकको विधि भारतीय रिजर्व बैंक (आरबीआई) सँगको सहकार्य र सरोकारवालाहरूको परामर्शमा परिष्कृत गरिएको हो। नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता, डिजिटल पूर्वाधार र सेवा वितरणमा नवप्रवर्तनलाई प्राथमिकता दिँदै समावेशी वित्तीय प्रणाली निर्माणमा जोड दिने बताएको छ।






