काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधि रोकथाममा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सशस्त्र प्रहरीले आइतबार सूचना प्रकाशन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, घुसपैठ, अतिक्रमण र अन्य आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न आम नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको जनाएको छ।
सशस्त्रले हाल देशको संवेदनशील सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै यस्तो सूचना जारी गरेको हो । सशस्त्रले कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन हटलाइन नम्बर ९८५१२९११०० र टोल फ्री नम्बर १११४ वा एसएमएस वाट्सएप, भाइवरमा फोन म्यासेज गरेर पनि जानकारी दिन सकिने जनाएको छ।
सशस्त्र प्रहरीले सीमाक्षेत्रमा शान्ति सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गरिरहेको उल्लेख गर्दै नागरिकबाट प्राप्त हुने सूचना सुरक्षाका लागि सहयोगी हुने बताएको छ। साथै, सशस्त्रकै कर्मचारीहरुसमेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गरेको छ ।
‘हालको जटिल सुरक्षा स्थिति तथा चाडपर्वको अवसरको अनुचित फाईदा लिँदै आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरुले खुल्ला सीमा इलाकाबाट चोरी तस्करीलगायत सीमा अपराध गराउन सक्ने हुँदा यस्तो क्रियाकलापहरु कहीँकतै भएको पाईएमा र देखिएमा वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरु समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर ९८५१२६१२०० माम्यासेज र फोन वा टोल फ्रि नम्बर १११४ मा जानकारी गराई सहयोग गरिदिन हुन आमसर्वसाधारण लगायत सम्पूर्णमा अनुरोध गर्दछु,’ सूचनामा भनिएको छ ।







