झापा । झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका–२ रामचोकस्थित रवि राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान करिब ४ बजे आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

ADVERTISEMENT

आगलागीमा परी क्यान्टिनमा काम गर्दै आएका गौरीगन्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव जलेको अवस्थामा फेला परेको थियो।

ADVERTISEMENT

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, एक लाख रुपैयाँ नगद र तीन वटा खसीबाख्रा जलेर नष्ट भएका छन्। ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत आगोले क्षति पुर्‍याएको छ।

दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४:३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा गोदाममा राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिज्दा थप २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।