काठमाडौं । जेनजी आन्दोलनका क्रममा व्यवसायी मिनबहादुर गुरुङको भाटभटेनी सपिङ कम्प्लेक्स मुख्य निसानामा परे । विभिन्न जिल्लामा रहेका भाटभटेनीका १२ वटा आउटलेट लुटपाट र जलाएर ध्वस्त बनाइयो ।
आन्दोलनकारीले जलाएको भाटभटेनीको भग्नावशेषबाट अहिलेसम्म १० जनाको शव फेला परेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीबाट ६ र धरानमा रहेको भाटभटेनीको जलाइएको भवनबाट चार गरी १० जनाको शव फेला परेको हो । चुच्चेपाटीको भाटभटेनीमा पूरै जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको हो ।
यस्तै पोखराका विभिन्न तीन स्थानबाट तीनजनाको जलेको शव भेटिएको छ । ललितपुरको ढोलाहिटीस्थित माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा एकजनाको शव भेटिएको थियो । यसरी अहिलेसम्म १४ जनाको शव जलेको अवस्थामा भेटिसकेको छ ।
जेनजी आन्दोलनको पहिलो दिन राज्य पक्षबाट १९ जनाको हत्या भएको थियो । चार सयभन्दा बढी घाइते बनेका थिए । तर दोस्रो दिनको आन्दोलनबाट नेपालले अकल्पनीय क्षति बेहोरेको छ ।




