काठमाडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ।

आगजनीका कारण ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

ADVERTISEMENT

कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ वटा स्टोरमध्ये टंगालसहित १० वटा स्टोर यसअघि नै सञ्चालनमा आइसकेका छन्। दमक र हेटौँडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको र ती दुवै स्टोर छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कठिन परिस्थितिका बीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

उनले आगजनीबाट स्टोरमा ठूलो क्षति भए पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन्।

ADVERTISEMENT

“मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,” गुरुङले भनेका छन्, “हामी एउटा निष्कर्षमा पुग्यौँ– खरानीबाट फेरि उठ्ने छौँ।”

१० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तर

कम्पनीले आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ।कठिन परिस्थितिमा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैँ बोनससमेत कटौती नगरिएको गुरुङले बताएका छन्।

“हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्षको दसैँ बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौँ,” उनले विज्ञप्तिमार्फत भनेका छन्।

कम्पनीले पुनर्निर्माणका क्रममा चौबीसै घण्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ। टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ। भाटभटेनीले आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।