काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हालै भएको संसद विघटनको निर्णय फिर्ता लिन माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सामूहिक विज्ञप्ति जारी गर्दै संसद छलेर गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरेका छन्।

ADVERTISEMENT

दलहरूले २०८२ भदौ २३ र २४ गते जेन–जी समूहको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको उपचार र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै सो क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बद्ध निकायलाई आग्रह गरिएको छ।

ADVERTISEMENT

२०८२ भदौ २७ गते राति राष्ट्रपति कार्यालयले संसद विघटन गरिएको भनी जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दलहरूले यस्तो कदम संविधान र प्रचलित कानुन विपरीत रहेको बताएका छन्। उनीहरूले लोकतान्त्रिक शासन व्यवस्थामा सबै समस्याको समाधान संविधान र कानूनअनुसार हुनुपर्नेमा जोड दिएका छन्।

संविधानको धारा ७६(७), सर्वोच्च अदालतका नजीर तथा संवैधानिक परम्पराविपरीत भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन मात्र होइन, संविधानमाथि प्रत्यक्ष प्रहार गरेको छ।”

दलहरूले प्रतिनिधि सभा विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको मागलाई संवैधानिक ढाँचामै सम्बोधन गर्न जोडदार माग गरेका छन्।