काठमाडौं । २० वटा वाणिज्य बैंकहरूले असारका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। नयाँ ब्याजदरअनुसार, जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको छ।

असार महिनाका लागि सात बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक छन् ।

ADVERTISEMENT

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ब्याजदर यथावत् राखेका छन् ।

व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ। संस्थागत निक्षेपको औसत दर पनि जेठको ३.२०४ प्रतिशतविन्दुबाट घटेर ३.१८ प्रतिशतविन्दुमा झरेको छ।

ADVERTISEMENT

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एसिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन्।

हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु र एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड तथा कुमारी बैंकले ०.०५ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।