काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ बढेपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उद्धार उपकरण तथा विशेष सामग्री माग गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन उच्च क्षमताका ड्रोन, लाइडर, टनेल रेस्क्यु सुट, उच्च क्षमताका पम्प, बेली ब्रिजलगायत सामग्रीका लागि अन्तर्राष्ट्रिय सहयोग माग गरिएको हो।
जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धार तथा बाक्लो लेदोका कारण मानिस पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको प्राविधिक क्षमता पर्याप्त नभएपछि विदेशी नियोग तथा मित्रराष्ट्रसँग सहयोग मागिएको मन्त्रालयले जनाएको छ।
सरकारले कठिन भूबनोट, पहिरोग्रस्त क्षेत्र तथा सुरुङभित्रको अवस्था स्क्यान गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडर प्रविधि माग गरेको छ। त्यस्तै, बाक्लो लेदो तथा सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्न मड/टनेल रेस्क्यु सुट र पानी तथा लेदो बाहिर निकाल्न उच्च क्षमताका पम्प आवश्यक रहेको जनाएको छ।
बाढीले क्षति पुर्याएका पुलको स्थानमा सडक सञ्जाल तत्काल सञ्चालन गर्न बेली ब्रिज, शव पहिचानका लागि डीएनए परीक्षण किट तथा ल्याब फ्रिजर पनि माग गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक चिकित्सकीय तथा स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको छ।
मन्त्रालयका अनुसार नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन भएका छन्। माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, चिलिमे, रसुवागढी र लाङटाङलगायत आयोजनामा उद्धार कार्य जारी छ।
बेपत्ताको खोजी तथा शव पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्।






