काठमाडौं, ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको निवासभित्र एक जनाको शव फेला परेको छ।
मंगलबार जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले गंगा दाहालको घरमा आगजनी गरेका थिए। त्यस क्रममा भएको क्षति विवरण संकलन गर्ने क्रममा घरभित्र जलेको अवस्थामा एक जना पुरुषको शव फेला भेटिएको ललितपुर प्रहरीले जनाएको छ। तर, शवको पहिचान हालसम्म खुल्न सकेको छैन।
ललितपुर प्रहरी परिसरका अधिकारीले भने, “शव कसको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन, प्रारम्भिक अनुसन्धान जारी छ।”
प्रदर्शनकारीले आगजनी गरेपछि घरमा ठूलो मात्रामा क्षति पुगेको छ। स्थानीयले आगलागी नियन्त्रणमा आउँदा निवास पूर्णरूपमा ध्वस्त भएको बताएका छन्।












