काठमाडौं । कांग्रेस सभापति गगन थापाले उत्तेजना र घृणाको राजनीतिकले कहीँ नपुगिने बताएका छन् । कीर्तिपुरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्ष कांग्रेसले सुझबुझका साथ मुलुक चलाउन खोजेको बताए ।
‘अरु सबै पार्टी झुर, हाम्रो पार्टी मात्रै खतरा भन्ने छ । यो उत्तेजना, घृणाको राजनीतिले कहीँ पुगिँदैन,’ उनले भने, ‘देशलाई सम्हाल्न घृणा र उत्तेजनाको भाषाले हुँदैन । पाँच वर्षमा देशलाई अघि बढाउन मलाई टिम चाहिन्छ । कांग्रेसले पाँच वर्षको समय खेर फाल्दैनौं । मुलुकलाई कानुनी शासनको आधारमा टुंगोमा पुर्याउन सकिन्छ ।’
थापाले कांग्रेसले आगामी दिनमा युवाहरू गोलीबाट मर्न नदिने, मुकुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने अवस्था चाहेको बताए ।
कीर्तिपुरको डाँडामा बसेर आएटीको काम गरेर दुई लाख कमाउन सक्ने आफूले भनेपछि त्यो यथार्थमा बदलिँदै गएको बताए । ‘नेताको काम सपना देख्नु हो । कीर्तिपुरको डाँडाको कुरा गरेपछि युवा साथीहरू आए, तपाईले भनेभन्दा धेरै कमाइरहेको बताए,’ उनले भने, ‘त्यसपछि हामीले आइटीको क्षेत्रमा गर्न सकिने कानुनको मस्यौदा बनायौं ।’
थापाले युवा पुस्तालाई लक्षित गर्दै सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि आफूहरुले रातदिन काम गरिरहेको र कानुनहरूसमेत परिवर्तन गरेको बताए । ‘अबको पाँच वर्षभित्र सूचना प्रविधिको क्षेत्रलाई हामी नेपालको एउटा महत्त्वपूर्ण उद्योगको रूपमा स्थापना गर्नेछौं,’ थापाले भने, ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान ५ प्रतिशत पुर्याउने र कम्तीमा एक लाख नयाँ, उच्च गुणस्तरीय र राम्रो कमाइ हुने रोजगारी यही क्षेत्रमा सिर्जना गर्ने हाम्रो लक्ष्य छ।’






