काठमाडौं । सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेस कुमार सिंहले नेपाली कांग्रेस का सभापति गगन कुमार थापा लाई पराजित गरेपछि सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।

डा. सिंहले फेसबुकमार्फत “मेरा मित्र गगन थापाजीलाई खुल्लापत्र” शीर्षकमा लामो सन्देश लेख्दै निर्वाचनपछि थापामाथि राजनीतिक टिप्पणी गरेका हुन्। उनले आफ्नो सन्देशमा थापाले सर्लाही आएर चुनाव लडेकोमा धन्यवाद व्यक्त गरे पनि उनलाई “भ्रष्टहरूले आयात गरेको उम्मेदवार” बनेको आरोप लगाएका छन्।

सिंहले पत्रमा लेखेका छन् कि चुनाव रोचक हुन सक्थ्यो तर केही समूहको प्रभावका कारण राजनीतिक प्रतिस्पर्धा स्वस्थ ढंगले अघि बढ्न नसकेको दाबी गरेका छन्। उनले आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनमाथि समेत टिप्पणी गरिएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यद्यपि उनले अब चुनावको तीतो अनुभवलाई बिर्सेर देश निर्माणमा सबै दलले सहकार्य गर्नुपर्ने बताएका छन्। “राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्छ,” भन्दै उनले आगामी दिनमा राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्न सकिने पनि उल्लेख गरेका छन्।

डा. सिंहले पत्रमार्फत रास्वपाले भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेको दाबी गर्दै थापालाई पनि “भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न” सुझाव दिएका छन्।

साथै उनले थापा कांग्रेस परिवर्तन गर्न खोजेर राजनीति गरे पनि आफू स्वयं परिवर्तनको प्रतीक बन्न नसकेको टिप्पणी गरेका छन्। पत्रको अन्त्यमा उनले थापाको आगामी राजनीतिक यात्रा सफल र स्वच्छ होस् भन्ने कामना गरेका छन्।