काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । आइतबार दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वामा बैठक बस्न लागेको हो । आइतबारको बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्यांकन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।
सचिवालय बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिनेछ । रास्वपामा रुपन्देही ३ मा उपनिर्वाचनका लागि नौजना आकांक्षी छन् । उनीहरूको प्राइमरी निर्वाचनसमेत भइसकेको छ । आजै नौजना आकांक्षीले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने भएका छन् ।
२६ सयभन्दा बढीले प्राइमरी निर्वाचनमा मत हालेका थिए । जसमध्ये सुलभ खरेलले एक हजारभन्दा बढी मत पाएको स्रोतले बताएको छ । नेताहरूका अनुसार खरेललाई रास्वपाले उम्मेदवार छनोट गर्ने सम्भावना बढी छ । दोस्रो नम्बरमा डा.लेखजंग थापा रहेको बताइन्छ ।







