काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन विवादमा परेको छ । महाधिवेशनमा सहभागी ४२ सय प्रतिनिधिमध्ये २९ सयले मात्र निर्वाचनमा सहभागिता जनाएका छन् । १३ सय प्रतिनिधि भोट नै नहाली घर फर्किएका छन् ।

९९ केन्न्द्रीय सदस्यका लागि भएको मतदानमा उम्मेदवार बनेकाको नाम अन्तिममा हटाइएको, क्रमसंख्या आफूखुसी तलमाथि पारिएको, भोटिङ मेसिनमा ५४ जनालाई अनिवार्य मतदान गरेपछि मात्र अरुलाई हाल्ने व्यवस्था गरिएकाले निर्वाचन विवादमा तानिएको हो । कतिपय आकांक्षीको नाम नै काटिएको छ । खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकालाई भूगोलमा पारिएको छ । यसल ेरास्वपामा व्यापक असन्तुष्टि उत्पन्न हुने खतरा देखिएको छ ।

पार्टीका नयाँदेखि चर्चित नेताहरुले चुनावी प्रक्रियाको विरोध गरेका छन् । कतिपय सांसद खुलेआम सामाजिक सञ्जालमार्फत नै विरोधमा उत्रेका छन् । रास्वपा सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा नो भोटको धज्जी उडाइएको टिप्पणी गरेका छन् । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले नो भोटको धज्जी उडाउने गरेर मतदान व्यवस्थापन गरिएको बताएका हुन् । ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी,’ उनले लेखेका छन् ।

ADVERTISEMENT

रास्वपाका अर्का सांसद धनञ्जय रेग्मीले पनि महाधिवेशनमा देखिएको लथालिंगप्रति इंगित गर्दै पदाधिकारीले अन्तर्राष्ट्रिय जगतमा पार्टीको बेइज्जत गरेको टिप्पणी गरेका छन् ।

ADVERTISEMENT

‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन्,’ सांसद रेग्मीले भने, ‘त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’
केन्द्रीय सदस्यको निर्वाचन भद्रगोल बनेपछि पदाधिकारीका लागि चुनाव नहुने देखिएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यको सूची हेरेर सर्वसम्मत पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारी रहेको स्रोतले बतायो ।

ADVERTISEMENT

१३ सयभन्दा बढी प्रतिनिधिहरू केन्द्रीय सदस्यका लागि भएको मतदानमा सहभागी नभएर घर फर्किसकेका छन्। पदाधिकारी चुनावसम्म पुग्दा अधिकांस मतदाता घर फर्किएपछि चुनाव नगरी सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भएको महाधिवेशनस्थलमा चर्चा चलेको छ । केन्द्रीय सदस्यमा आउने अनुहार हेरेर पदाधिकारी सर्वसम्मत छानिने बताइन्५ ।
पदाधिकारीमा चुनाव नहुने सूचना पाएरै आकांक्षीले मत माग्न दौडधुप गरेका छैनन्। उपसभापतिमा डा. स्वर्णिम वाग्ले, महिला उपसभापतिमा समीक्षा बास्कोटा, लिमा अधिकारी, इन्दिरा राना मगर र प्रतिभा रावललगायतले दाबी गरेका छन्।

महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, मनीष झा, विपिन आचार्य, दीपक बोहोरा र सोबिता गौतम आकांक्षी छन्। तर सर्वसम्मत पदाधिकारी चयन हुनसक्ने देखिएपछि उनीहरूले पनि मरिहत्ते गरेर मत मागेका छैनन्।

रास्वपाको विधानअनुसार, प्रहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको निर्वाचन भइसकेको छ। लामिछाने मंगलबार नै सभापति निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले प्रकाशन गरेको चुनावी तालिकामा पदाधिकारीको चुनावको विषय उल्लेख गरेको छैन। अघिल्ला सूचना निकाल्दा केन्द्रीय सदस्यको चुनाव सकिएको दुई घण्टामा नतिजा आउने त्यसको दुई घण्टापछि दोस्रो चरण अर्थात पदाधिकारी चयनको निर्वाचनको कार्यतालिकाबारे उल्लेख हुन्थ्यो।