काठमाडौँ  । गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चीन सरकारले सो निर्माण सुरु गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो । बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो ।
सुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीपहिरोबाट बगेको मितेरी पुलको ठाउँमा बेलिब्रिजलगायतका संरचनाको निर्माण भदौ ३० गतेसम्म सम्पन्न गरिसक्ने जानकारी चिनियाँ पक्षले गराएको बताउनुभयो ।

उहाँका अनुसार प्रतिबद्धताबमोजिम चीनले तीव्र गतिमा काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले स्याफ्रुबेँसी–रसुवागढी सडकमा सवारीसाधन सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सो सडकमा बसलगायतका हलुका सवारीसाधन सञ्चालनमा आएका छन् ।