काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई-उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका छन् । समझदारीपछि कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरुलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरुको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ ।
सम्झौताअनुसार, डिएआई-उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् ।
नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।
डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय उर्जा, कृषी प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायहरुलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतीका लागि वित्तीय श्रोतमा सहज वातावरण बनाइरहेको छ ।
ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।








