काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले  निक्षेप र ऋण प्रवाहमा दोहोरो अंकको वृद्धि हासिल गर्दै बजारमा आफ्नो उपस्थितिलाई मजबुत पारेको छ। तर, ब्याज आम्दानी र सञ्चालन नाफामासामान्य  गिरावट देखिएको छ, जसको कारण उच्च इम्पेयरमेन्ट लागत र बढ्दो निष्क्रिय कर्जा (NPL) भएको विश्लेषण गरिएको छ।

पुँजी र नाफामा सुधार
बैंकको चुक्ता पुँजी गत वर्षको रु. ३६ अर्ब १२ करोड ८७ लाखबाट बढेर रु. ३८ अर्ब ११ करोड ५८ लाख पुगेको छ, जुन ५.५०% वृद्धि हो। यससँगै, रिटेन्ड अर्निङ्समा ९६१.६०% को उल्लेखनीय वृद्धिसहित रु. ५ अर्ब ३७ करोड पुगेको छ, जसले बैंकको वितरणयोग्य नाफा पनि त्यही अनुपातमा बढाएको छ। पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) पनि १२.३९% बाट बढेर १३.३९% पुगेको  छ, जसले बैंकको वित्तीय स्थायित्व बलियो रहेको संकेत गर्दछ।

ADVERTISEMENT

निक्षेप र ऋणमा दोहोरो अंकको वृद्धि
बैंकको निक्षेप संकलन १२.९६% ले बढेर रु. ५ खर्ब ५० अर्ब ६२ करोड पुगेको छ भने ग्राहकलाई दिएको ऋण तथा अग्रिम  ११.४७% ले बढेर  रु. ४ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ। यो  वृद्धिले बैंकको बजार हिस्सा थप  बिस्तारित  भएको देखिन्छ।

ब्याज आम्दानीमा सामान्य गिरावट, तर कोष लागतमा सुधार
बैंकको खुद ब्याज आम्दानी ०.८५% ले घटेर रु. १६ अर्ब ७१ करोडमा सीमित भएको छ, जसको प्रमुख कारण उच्च प्रतिस्पर्धा र ब्याजदरमा आएको उतारचढाव हुनसक्छ । यद्यपि, बैंकको कोषको लागत (Cost of Fund) ६.२१% बाट घटेर ४.३०% मा झरेको छ, जुन ३०.७६% को कमी हो। यसले आगामी दिनमा बैंकले आफ्नो कर्जा मुनाफा सुधार गर्न सक्ने देखाएको छ।

ADVERTISEMENT

सञ्चालन नाफा र खुद नाफाको स्थिति
सञ्चालन नाफा २.७५% ले घटेर रु. ८ अर्ब ७७ करोडमा पुगेको छ। तर, खुद नाफा भने १.१०% ले बढ्दै रु. ६ अर्ब २० करोड पुगेको छ। यो वृद्धिमा लागत व्यवस्थापन र अन्य आम्दानी स्रोतको योगदान रहेको देखिन्छ।

चुनौतीहरु
बैंकको निष्क्रिय  कर्जा (NPL) ४.१७% बाट बढेर ४.८७% पुगेको छ, जुन १६.७९% को वृद्धि हो। यसले कर्जाको गुणस्तरमा आंशिक दबाब रहेको संकेत गर्दछ र आगामी अवधिमा इम्पेयरमेन्ट लागत अझ बढ्न सक्ने सम्भावना देखाउँछ। समग्रमा आन्तरिकतर्फ, बैंकले जनशक्ति, व्यवसाय र संजालको विस्तारसँगै बढ्ने सञ्चालन जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने, कर्जाको गुणस्तर सुधार गर्दै निष्क्रिय कर्जा न्यून राख्ने, अतिरिक्त तरलताको सही उपयोग गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोगका बीच उत्पन्न हुने जोखिम समयमै पहिचान गरी नियन्त्रण गर्ने, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्चमा मितव्ययिता अपनाई पूँजीमा अपेक्षित प्रतिफल सुनिश्चित गर्ने, दक्ष जनशक्तिको ज्ञान र सीपको अधिकतम उपयोग गर्दै पलायन दर कम गर्ने चुनौतीहरू छन्। बाह्यतर्फ, अर्थतन्त्रको सुस्त गतिले व्यवसायमा पारेको असरका कारण कर्जाको साँवा र ब्याज भुक्तानीमा समस्या, दिगो बैंकिङ कारोबार विस्तार र लगानीकर्ताको अपेक्षित प्रतिफल पुरा गर्ने दबाब, न्यून कर्जा वृद्धिदर, निष्क्रिय कर्जाको असुली चुनौती, प्रविधिको विकाससँगै आएका जोखिम, साथै नियामक निकायका नीतिनिर्देशनका कारण सञ्चालन खर्च बढ्नु र आम्दानीमा सम्भावित कमीका कारण नाफामा पर्ने दबाब प्रमुख चुनौतीका रूपमा रहेका छन्।