काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा सोमबार सुरु भएको छ । साधारणसभाको उदघाटन कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताए । ‘हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,’ उनले भने ।

ADVERTISEMENT

ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताए । झन्डै दुई तिहाइ समर्थनसहित सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई नीतिगत स्थायित्व र विकासका लागि प्रयोग गर्न आग्रह गरे ।

महासंघको पहलमा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पारित गरिएको रणनीतिप्रति सरकारको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै ढकालले यसले निजी क्षेत्रको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे ।

देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकामा उनले चिन्ता व्यक्त गरे । ढकालले नेपाल र दक्षिण कोरियाबीचको प्रतिव्यक्ति आयको तुलना गर्दै सुधारको गति अपेक्षाभन्दा कम रहेको स्वीकार गरे ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको संकटले नेपालको अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उनले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर परेको बताए । ढकालले हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।