काठमाडौं । माओवादी स्थायी समितिको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न माओवादीको स्थायी समिति बैठक बसेको हो ।

बैठकमा स्थायी समितिका सदस्यहरूले आआफ्नो धारणा राखिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे आजको बैठकमा जानकारी गराउने भएका छन् ।

जेनजी आन्दोलनपछि पार्टी नेतृत्व हस्तान्तरणको आवाज उठेपछि प्रचण्डले मौजुदा केन्द्रीय कार्यसमिति नै विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको त्यो प्रस्ताव केन्द्रीय समितिले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

जनार्दन शर्मालगायत नेताहरूले अध्यक्ष प्रचण्डले राजीनामा दिएर अविलम्ब पार्टी पुनर्गठन गर्न दबाब दिएपछि मौजुदा केन्द्रीय कार्यसमिति नै भंग गर्ने प्रस्ताव गरिएको हो । प्रचण्ड कुनै पनि हालतमा नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । बहुसंख्यक माओवादी नेता कार्यकर्ताले अझै पनि प्रचण्डको विकल्प देखेका छैनन् ।