काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिस्ट पार्टीबीच एकता गरिहाल्न प्रस्ताव गरेका छन् ।
आइतबार मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले वामपन्थी देशभक्त शक्तिहरुले सहकार्य र एकतामा ढिलाइ गर्दा देश भयानक दुर्घटनामा पर्ने भन्दै एमालेसहित कम्युनिष्ट पार्टीहरुलाई एकताका लागि आह्वान गरेका हुन् ।
‘भारतमा कम्युनिस्ट सकियो घोषणा गरिएको छ । नेपालमा कसरी सक्न सकिन्छ भनेर दुनियाँभरिका प्रतिक्रियावादीहरु लागेका छन् । यो परिस्थितिमा ढिलो नगरी राष्ट्रिय स्वाधिनताका पक्षमा, वैदेशिक हस्तक्षेप दबाबविरुद्ध छिटो वामपन्थी, देशभक्त शक्ति एक भइहाल्नुपर्छ,’ प्रचण्डले भने, ‘मैले भोलि नै पार्टी एकता गरौं भनेको छैन । मैले सकिन्छ भने सहकार्य आज सके, भरे, भोलि गरौं, संसद, सडकमा चुनावमा गरौं भनेको छु ।’
प्रचण्डले सहकार्य गर्न जति ढिलो ग¥यो त्यति नै भयानक दुर्घटना हुने दाबी पनि गरे । ‘हामी ०७४ सालमा मिलेको पनि हो । हामी मात्र होइन, हाम्रो एकताप्रति जनताले झण्डै दुई तिहाइ दिएर जनताले अनुमोदन गरेको पनि हो,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न समीक्षा गर्नैपर्छ भन्ने पक्षमै छु । हतारो गरेर फुर्सदमा पछुताउने कुरामा सतर्क हुनैपर्छ । हामीले पनि मिलेर मात्रै सफलता पाउन सकिन्छ ।’
प्रचण्डले संविधान पक्षधर शक्तिहरु पनि एक ठाउँमा उभिनुपर्छ भन्नेमा आफूले जोड दिँदै आएको बताए ।
कार्यक्रममा नेकपा सहसंयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट एकता हुन नसक्ने बताए । उनले कुराले चिउरा नभिज्ने भन्दै असल भावले मात्र वामपन्थीबीच एकता हुने बताए ।
नेकपा नेता झलनाथ खनालले चुनावअघि नै कम्युनिस्टबीच एकता भएको भए सय सिट आउने दाबी गर्दै अहिले बालेनको निरंकुशता मुलुकले सहन नपर्ने बताए । उनले आजैबाट वामपन्थी एकता थाल्नुपर्ने बताए ।





