काठमाडौं । पछिल्लो समय नेपालका प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोबाट गुज्रिरहेका छन् । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जसपा सबै दल कुनै न कुनै किचलोबाट गुज्रिँदै आएका छन् ।
एमाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाले आन्तरिक द्वन्द्वमा फसेको छ । भण्डारीले चाल्ने कदम र त्यसलाई रोक्न एमालेले विभिन्न हतकण्डा प्रयोग गर्दा नेता कार्यकर्तामा चिन्ता बढेको छ ।
एमालेले पूर्वराष्ट्रपति भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्ने बताएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले १२औं अन्तर पार्टी निर्देशन जारी गर्दै राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको जानकारी गराएका छन्। तर उनले आफू नरोकिन जनाउ दिइसकेकी छन् ।
कांग्रेस भने विभिन्न विधेयकका कारण सत्तारुढ एमालेसँग मनमुटावको अवस्थामा छ । त्यसमाथि डा.शेखर कोइरालालगायत अन्य नेताले सरकार र नेतृत्वप्रति गुटबन्दी बढाउँदै लगेका छन् । शेखर सभापति शेरबहादुर देउवाविरुद्ध सुरुदेखि नै विराेधमा छन् । पछिल्लो समय बागमती प्रदेशमा आफ्नै नेतृत्वको सरकार ढाल्न एउटा पक्ष लागेपछि तीव्र असन्तुष्टि उत्पन्न भएको छ । आफ्नै सरकार ढाल्न लागेको भन्दै असन्तुष्टि चुलिएको हो ।
प्रमुख प्रतिपक्ष माओवादी विभाजनको संघारमा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उपमहासचिव जनार्दश शर्माले फायर खोलेपछि असन्तुष्टि शिखरमा पुगेको छ । त्यहाँ विस्तारै नेताहरुमा ध्रुवीकरण बढ्दो छ । प्रचण्ड पक्ष नेता कार्यकर्ता शर्मामाथि कारबाहीकाे माग गर्न थालेका छन् ।
पटकपटक विभाजनको समस्या खेप्दै आएको राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच आरोपप्रत्यारोप जारी छ । जुनसुकै बेला राप्रपा दुई फ्याक हुने अवस्था छ ।
एकीकृत समाजवादीमा माधवकुमार नेपालविरुद्ध महासचिव घनश्याम भुसाल र सचिव रामकुमारी झाँक्रीले प्रहार गर्न छाडेका छैनन् । यसअघि नै सो पार्टीका प्रेम आले र किसान श्रेष्ठले दलको निर्देशन अस्वीकार गर्दै आएका छन् ।
रास्वपा भने सभापति रवि लामिछाने थुनामा परेपछि सही ढंगले चल्न सकेको छैन । रविकै वरिपरि रहेर रास्वपाले कार्यक्रम र अभियान चलाउँदै आएको छ । पार्टीलाई नेतृत्व दिने नेता रविबाहेक कोही देखिएको छैन ।
नागरिक उन्मुक्ति पार्टी अहिले कि भोलि फुट्ने भन्ने अवस्थामा पुगेको छ । सधैं विवादमा रुमल्लिरहेको नाउपा अहिले रेशम चौधरी र रञ्जिता श्रेष्ठ पक्ष विपक्षका बाँडिदा नेतृत्व नै परिवारबाट बाहिर पुगेको छ ।






