दैलेख। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा संयुक्त चुनावी जनमसभाका लागि अनौठो प्रस्ताव अघि सारिएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले आफ्नो सामाजिक संजाल मार्फत सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर ‘संयुक्त चुनावी जनसभा’ आयोजना गर्न सार्वजनिक आह्वान गरेका हुन् ।
छुट्टाछुट्टै, खर्चिलो र झन्झटिला चुनावी सभा गर्नुको सट्टा ११ वटै दल र स्वतन्त्र उम्मेदवारले संयुक्त रूपमा जनसम्वोधन गर्नुपर्ने प्रस्ताव शाहीले अघि सारेका हुन् । उनका अनुसार यस्तो कार्यक्रम ५ वटै नगरपालिका र गाउँपालिकामा सञ्चालन गर्न सकिनेछ ।
प्रस्तावअनुसार स्वतन्त्र पत्रकार वा व्यक्तिलाई सहजकर्ताको भूमिका दिइनेछ भने प्रत्येक उम्मेदवारले अधिकतम १५–२० मिनेटको समयसीमाभित्र आफ्ना नीति, योजना र प्रतिबद्धता राख्ने व्यवस्था गरिनेछ ।
समान अवसर र न्यूनतम मापदण्डमा आधारित कार्यक्रमले मतदातालाई प्रत्यक्ष रूपमा सबै उम्मेदवारको धारणा सुन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
शाहीले संयुक्त जनसभाको खर्च पनि सबै दल र स्वतन्त्र उम्मेदवारले बराबरी रूपमा व्यहोर्ने सुझाव दिएका छन् । यसबाट चुनावी खर्च घट्ने, अस्वस्थ प्रतिस्पर्धा कम हुने र स्वस्थ लोकतान्त्रिक अभ्यासको विकास हुने उनको दाबी छ ।
ज्वाला–पञ्चकोशी क्षेत्रबाट सुरु हुने यस पहलले नयाँ राजनीतिक संस्कार र सभ्य समाज निर्माणतर्फ देशव्यापी नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । यदि सबै पक्ष सहमत भएमा दैलेख–२ आगामी निर्वाचनमा सहकार्य र पारदर्शा प्रतिस्पर्धाको नमुना क्षेत्र बन्न सक्ने शाहीको विश्वास छ ।





