काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युुवा तथा खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुुपर्नेमा पनि जोड दिएका थिए ।

युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी बालुवाटारमा उपस्थित थिए ।

खेलकुदमन्त्री चौधरीमाथि दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिता रोक्न खोजेको आरोप लाग्दै आएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राजनीति नगर्न चेतावनी दिएका थिए ।