दमौली (तनहुँ) । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ७५.५ प्रतिशत पुगेको छ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको राष्ट्रिय गौरवको यस आयोजनाअन्तर्गत बाँध तथा हेडवर्क्स निर्माणको प्रगति ५९ प्रतिशत पुगेको छ।

विद्युतगृह तथा उपकरण जडानतर्फ ७७ प्रतिशत प्रगति हासिल भएको आयोजनाले जनाएको छ। भूमिगत संरचनाको उत्खनन र कंक्रिटिङ सम्पन्न भइसकेको छ भने टर्बाइन, जेनेरेटर तथा अन्य इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ।

ADVERTISEMENT

त्यसैगरी, दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणतर्फ ७८ प्रतिशत प्रगति भएको छ। ३३ किलोमिटर लामो प्रसारण लाइनका लागि निर्माण हुने अधिकांश टावरको जग तथा टावर निर्माण सम्पन्न भइसकेको छ।

ADVERTISEMENT

आयोजनास्थलको हालै एडीबी र जाइकाको प्रतिनिधिमण्डलले निरीक्षण गर्दै निर्माण प्रगति तथा सामाजिक र वातावरणीय सुरक्षणका पक्षको समीक्षा गरेको थियो।

ADVERTISEMENT

आयोजना प्रभावित क्षेत्रमा स्थानीयसँग नियमित परामर्श, जैविक विविधता संरक्षण, सामुदायिक विकास कार्यक्रम, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरणका विभिन्न कार्यक्रमसमेत सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

यसैबीच, तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पेश गरिएको कम्पनीले जनाएको छ।