काठमाडौं, साउन ७, २०८२ – सिन्धु विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। यो नतिजाले बैंकको नाफामा उल्लेखनीय सुधार देखाएको छ, बैंकले यो त्रैमासमा रु. ११७.८८ करोड खुद नाफा कमाएको छ, जुन गत वर्षको यही अवधिको रु. ३०.४१ करोडको तुलनामा २८७% ले धेरै हो। यो वृद्धिको मुख्य कारण कर्जा जोखिमको लागि राखिएको रकम रु. १७९ करोडको सुधार हो, जसले बैंकको सञ्चालन नाफालाई रु. १५.३६ करोड पुर्याएको छ। तर, वितरणयोग्य नाफा भने गत वर्षको तुलनामा ४४% ले घटेको छ जसको अर्थ बैंकले अहिले लाभांश बाँड्न सक्ने अवस्थामा छैन।
बैंकको मुख्य कमाइको स्रोत ब्याजबाट हुने आय हो, जसलाई खुद ब्याज आय भनिन्छ। यो वर्ष यो रकम रु. १३.३८ करोड रहेको छ, जुन गत वर्षको तुलनामा ३०% प्रतिसतले कम हो। यसको कारण बैंकको कर्जा र निक्षेपमा आएको कमि र ब्याजदर घट्नु रहेको छ । यद्यपि, बैंकले आफ्नो खराब कर्जा (NPL) २.७६% बाट १.०९% मा झार्न सफल भएको छ, यसले बैंकले कर्जा व्यवस्थापनमा राम्रो काम गरेको देखाउँछ। साथै, बैंकले कोषको लागत ६.५२% बाट ५.४१% मा झारेको छ, जसले खर्च नियन्त्रणमा सहयोग गरेको छ।
बैंकको प्रति शेयर आय (EPS) रु. ५.४६ बाट रु. २१.१५ पुगेको छ, र प्रति शेयर सम्पत्ति मूल्य रु. ८६.७० पुगेको छ। बैंकको पूँजी पर्याप्तता अनुपात १२.८% पुगेको छ जसले बैंकको वित्तीय स्थिति बलियो रहेको देखाउँछ। यो नतिजाले बैंकको प्रगति देखाए पनि, ब्याज आयमा कमी र वितरणयोग्य नाफाको कम्जोर स्थितिले लगानीकर्ताहरूलाई सतर्क रहन संकेत गर्छ।







