काठमाडौं । निर्माण घोषणा गरिएको नेपाली फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ।

फिल्मको छायांकन यही बुधबारदेखि गुर्जा खानी आसपासका विभिन्न रमणीय स्थानमा सुरु हुने र पहिलो चरणको छायांकन करिब ४० दिनसम्म चल्ने निर्माण टिमले जनाएको छ।

फिल्म ‘सारथी’बाट लामो समयदेखि सम्पादन क्षेत्रमा सक्रिय तारा थापा ‘किम्भे’ले निर्माताका रूपमा डेब्यु गरेका छन्। करिब तीन दशकको अनुभव सँगालेका उनले दर्शकलाई सशक्त कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माणमा लागेको बताएका छन्। किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यस फिल्ममार्फत कुमार गजुरेलले निर्देशनमा डेब्यु गर्दैछन्।

फिल्मको मुख्य आकर्षणका रूपमा अभिनेता उत्तम प्रधान र अभिनेत्री निरूता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ ठूलो पर्दामा देखिन लागेको छ, जसले दर्शकमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ। शुभमुहूर्त कार्यक्रममा अभिनेत्री निरूता सिंह सहभागी भएकी थिइन् भने अभिनेता उत्तम प्रधान वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा सहभागी हुने तयारीमा छन्।

फिल्ममा उत्तम र निरूतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरूङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहनेछ। सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने लाइन प्रोड्युसरको जिम्मेवारी अमीर केसी र निर्देशक गजुरेल स्वयंले सम्हाल्नेछन्।