के हो (AQR)?

एसेट क्वालिटी रिभ्यु (Asset Quality Review ) भन्नाले कुनै बैंकले दिएको कर्जाको गुणस्तर परीक्षण गर्ने विशेष प्रक्रिया हो। यस प्रक्रियामा बैंकले आफूले दिएका सबै प्रकारका कर्जाहरू  जस्तै घरकर्जा, व्यापारिक कर्जा, उद्योगकर्जा आदिको गहिरो अध्ययन गरिन्छ कि ती कर्जाहरू समयमै फिर्ता भैरहेका छन् या छैनन्। यदि कुनै ऋण समयमै फिर्ता भएको छैन भने त्यसलाई ‘नन–पर्फर्मिङ एसेट’ (NPA) भनिन्छ। यस्ता NPA को संख्या धेरै भयो भने त्यो बैंकको आर्थिक स्वास्थ्यका लागि खतरा मानिन्छ।एसेट क्वालिटी रिभ्यु अन्तर्गत समग्र कर्जा मा निष्कृय कर्जाको अनुपात , कर्जा जोखिम व्यबस्थापनको येथोचित प्रबन्ध, जोखिम पहिचानका प्रक्रिया, कर्जा तथा लगानीको गुणस्तर, पुनर्तालिकीकरण र पुनसंरचना गरिएका कर्जाको गुणस्तर लगायतका अन्य सूचकको बिस्तृत खोजतलास गरिन्छ जसले बैंकको वास्तविक वित्तीय स्थित छर्लंग पार्दछ।

एसेट क्वालिटी रिभ्यु कसले गर्दछ ?

आफुले नियमन गरिरहेको संस्थामा  स्वार्थको द्वन्द नहोस भनेर  केन्द्रिय बैंकहरुले आफै बैंकहरुको एसेट क्वालिटी रिभ्यु गर्न निमिल्नेहुँदा  यस्ता समीक्षाहरू स्वतन्त्र नियामक वा लेखापरीक्षकहरूलाई गराउने अन्तराष्ट्रिय अभ्यास छ त्यसैले AQR प्रक्रिया विशेषगरी नियामक निकायजस्तै नेपाल राष्ट्र बैंक, भारतीय रिजर्भ बैंक (RBI), वा अन्य केन्द्रिय बैंकहरूले स्वतन्त्र नियामक वा लेखापरीक्षकहरू मार्फत गराउँछन्, ताकि बैंकहरूले कति खराब ऋण दिएका छन्, तिनीहरूलाई कसरी व्यवस्थापन गरेका छन्, र कति जोखिममा छन् भन्ने कुरा निस्पक्ष बुझ्न सकियोस्। वित्तीय स्थिरता कायम गर्ने नाममा केन्द्रिय बैंकहरुले नजरअन्दाज गरिदिदा धेरै बैंकहरूले  आफ्नो आर्थिक प्रतिवेदन राम्रो देखाउनका लागि खराब ऋण लुकाउने प्रयास गर्छन्। बैंकहरुले चलाखीपूर्ण तरिकाले खराबकर्जाहरुलाई समायोजन गरि असल कर्जाको रुपमा प्रस्तुत गर्छन जसले सम्पूर्ण वित्तीय प्रणालीमा खराब कर्जाको (Bubble)  फोका बनिरहेको हुन सक्छ। यस्तो फोकाहरु जति बेला पनि फुटेर वित्तीय क्षेत्रलाइ तहस नहस बनाउन सक्छ। AQR ले यस्ता लुकेका समस्याहरूलाई समयमै  सतहमा ल्याउने काम गर्छ।

ADVERTISEMENT

नेपालमा हाल बैंकहरूले दिइरहेका कर्जाहरूको गुणस्तरमा प्रश्न उठ्न थालेको छ, किनभने पुनःभुक्तानीमा ढिलाइ, पुनर्तालिकीकरण र पुनसंरचना गरिएका कर्जाहरुमा समस्या यथावत रहनु,  व्यवसायहरू बन्द हुनु, र बजारको मन्दीले बैंकहरूमा जोखिम बढाएको छ। यस्तो अवस्थामा AQR ले बैंकको वास्तविक अवस्था देखाउन सहयोग गर्छ। उदाहरणका लागि, भारतमा सन् २०१५ मा भारतीय रिजर्भ बैंकले सबै प्रमुख बैंकहरूमा AQR गरेपछि धेरै ठूलो परिमाणमा लुकेका NPA बाहिर आएका थिए, जसले बैंक सुधार र शुद्धिकरणको थालनी गर्‍यो।

ADVERTISEMENT

एसेट क्वालिटी रिभ्यु किन गरिन्छ ?

एसेट क्वालिटी रिभ्यु गर्दा ऋणहरू कुन वर्गमा राखिएको छ भनेर जाँच गरिन्छ  के त्यो ऋण अझै चलिरहेको छ, वा त्यो ‘शङ्कास्पद’ अवस्थामा छ? साथै, ऋण दिएपछि बैंकले घाटा हुन सक्ने सम्भावनाको लागि राखेको सुरक्षा रकम (provision) पर्याप्त छ या छैन भन्ने पनि मूल्याङ्कन गरिन्छ। कर्जा दिँदा राखिएको धितोको मूल्य कति विश्वसनीय छ भन्ने कुरा पनि परीक्षणमा पर्छ। 

AQR ले बैंकलाई सजग बनाउँछ, पारदर्शिता ल्याउँछ र सुधारका लागि आवश्यक कदम चाल्न बाध्य बनाउँछ। यस्तो परिक्षणले बैंकहरुद्वारा भइरहेको गलत अभ्यास रोकिन्छ र उत्तरदायित्वको बिकाश हुन्छ।यसले समग्र बैंकिङ प्रणालीप्रति आम नागरिक, लगानीकर्ता र अन्य बैंकहरूको विश्वास पनि बढाउँछ। तर समय समयमा  AQR नगरेको खण्डमा समस्या लुकेर बस्न सक्छ, जसले भविष्यमा ठूलो वित्तीय संकट निम्त्याउन सक्छ। त्यसैले, AQR कुनै सजिलो प्रक्रिया नभए पनि, दीर्घकालीन सुधार र स्थायित्वका लागि अत्यन्त आवश्यक प्रक्रिया हो।

ADVERTISEMENT

नेपालका बैंकहरूको हालको अवस्था हेर्दा AQR आवश्यक भएको देखिन्छ। यसले बैंकको वास्तविक आर्थिक अवस्था सार्वजनिक गराएर सुधार ल्याउने मार्ग प्रशस्त गर्छ। नागरिकको पैसा सुरक्षित रहोस् र बैंकिङ प्रणालीमा विश्वास कायम रहोस् भन्ने हेतुले एसेट क्वालिटी रिभ्युजस्तो प्रक्रिया समयमै गरिनुपर्छ।