काठमाडौं, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंयाँ संस्थागत निक्षेप लगानीको लागि अफर गरेको छ । बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंक र फाईनान्स कम्पनीहरुले लगानी गर्न सक्ने गरी बैंकको पेन्सन तथा उपदान कोषमा रहेको लगानी गर्नको लागि प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्नै बैंक तथा वित्तीय संस्थाहरूले यही बैशाख नौं गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्नेछ । संस्थागत मुद्धती निक्षेपकोरुपमा राखिने यस्तो रकमको अवधि तीन सय ६६ दिन अर्थात् अवधि अप्रिल २८, २०२६ देखि, अप्रिल २८, २०२७ सम्म रहने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याइएको कुुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि आठ अर्ब, विकास बैंकहरूको लागि एक अर्ब ५० करोड र फाइनान्स कम्पनीहरूको लागि ५० करोड रुपैयाँ रहेको छ । यो रकम लगानीको लागि बिभिन्न शर्तहरु तोकिएका छन् । जसअन्र्तगत रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने शर्तहरु रहेका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने न्युनतम सर्तहरु तोकिएका छन् ।