काठमाडौं । संयुक्त राष्ट्रसंघले स्पेनमा आयोजना गरेको विकाससम्बन्धी कार्यक्रममाप्रधानमन्त्री केपी ओलीसँगै गएका मानिसहरू नफर्किएको भन्ने विषयले प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ ।
आइतबारको संसद् बैठकमा यो प्रकरणमाथि छानबिन गर्न माग उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यसमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। उनले किन संसदीय छानबिन समिति गठन गर्न सरकार डराएको ? भन्दै प्रश्नसमेत गरे।
‘भर्खरै प्रधानमन्त्रीसँग भ्रमणमा गएका, उनीसँग नगए पनि उहाँको कार्यक्रममा जाने भनेर गएकाहरू मान्छेहरू फर्किएका छैनन् भन्ने पुष्टि भइसक्यो, यसको छानबिन गरौँ, संसदीय छानबिन बनाउन यो सरकार किन डराएको हो ?,छानबिन समितिको हामी माग गर्छौँ,’ प्रतिनिधिसभाको आकस्मिक समयमा उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छिन्। उनले सुशासन आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहोर्याइन्।






