काठमाडौं, २०८२ भाद्र ३१ – २०८२ भाद्र २३ र २४ गते भएको प्रदर्शनका कारण निजी क्षेत्रका उद्योग, व्यवसाय र लगानीमा पुगेको क्षति तथा व्यवसायीले भोगिरहेका समस्या सम्बोधनका विषयमा अर्थमन्त्री रामेश्वर खनालले आज अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप, भाटभटेनी ग्रुप लगायतका उद्योग–व्यवसायीको सहभागिता रहेको थियो।

निजी क्षेत्रका प्रतिनिधिहरुले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग व्यवसायको सुरक्षा, प्रवर्द्धन र लगानी प्रोत्साहनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका थिए। प्रदर्शनका क्रममा उद्योगमा पुगेको क्षति सम्बोधनका लागि कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको छिटो भुक्तानी लगायतका मागहरू राखिएको थियो। साथै, निजी क्षेत्रप्रति सरकार, दल, पत्रकार र नागरिक समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको सुझाव पनि राखिएको थियो।

ADVERTISEMENT

अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक विदामा पनि बैंक र भन्सार खुला राखिने जानकारी दिँदै, पहिरोका कारण अवरुद्ध तातोपानी नाका खुलाउन सरकार प्रयासरत रहेको बताए।

ADVERTISEMENT

यसैबीच, अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयमा पुगेको क्षतिको अवलोकन गरेको जानकारी गराउँदै, सार्वजनिक तथा निजी क्षेत्रको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको उल्लेख गरे।

ADVERTISEMENT

उनले उद्योग–व्यवसायीको समस्या सरकारकै समस्या भएको बताउँदै, एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याइने जानकारी दिए। कर तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको उनले बताए। साथै, सार्वजनिक सेवामा जनताले प्रत्यक्ष अनुभव गर्ने गरी कार्यक्षमता बढाउन सबै कर्मचारीलाई निर्देशन दिइसकेको जानकारी गराए।