काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफू कुनै पनि दलसँग संवादमा नरहेकाे बताएकी छन्। उनले आफूसँग कुनै पनि प्रकारको पुष्टि नगरी समाचार प्रकाशित गरेकोमा असन्तोष व्यक्त गरेकी हुन्।
अनलाइनखबरले “कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरू संयुक्त छलफलमा” शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारप्रति लक्षित गर्दै सांसद गौतमले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै समाचार संस्थालाई खेद प्रकट गर्न र भविष्यमा भ्रम सिर्जना नगरी समाचार लेख्न चुनौती दिएकी हुन्।
उनले पत्रकारिता नैतिकताअनुसार समाचार लेख्नु अघि सम्बद्ध व्यक्तिसँग पुष्टि गर्नुपर्ने भन्दै अनलाइनखबरलाई आफू सँग प्रत्यक्ष सम्पर्क गरेर मात्र समाचार तयार गर्न आग्रह गरेकी छन्।
अनलाइनखबरमा प्रकाशित समाचारअनुसार, नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी; नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई; नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी; रास्वपाबाट सोभिता गौतम र शिशिर खनाल संयुक्त भर्चुअल संवादमा सहभागी भएको उल्लेख गरिएको थियो। चारवटै पार्टीका नेताहरूको आन्तरिक छलफलपछि उक्त भर्चुअल संवादमार्फत तीन बुँदे निष्कर्षसमेत निकालेको दाबी समाचारमा गरिएको छ।
गौतमको भनाइअनुसार यस्ता भ्रामक समाचारहरूले जनमानसमा भ्रम फैलाउने खतरा रहेको छ, त्यसैले यस्ता अभ्यास तत्काल रोकिनु आवश्यक छ।












