काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको लोकेसन र आफूले पर्खिएको स्थानसम्म आइपुग्न लाग्ने समय मोबाइलबाटै थाहा पाउन सकिने भएको छ। यसका लागि ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।

बुधबार संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन्।

एपमार्फत हाल जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनको अवस्थाबारे जानकारी लिन सकिनेछ। आगामी दिनमा जीपीएस जडान भएका थप सवारीसाधनलाई पनि एपमा समेट्दै जाने परिषद्को योजना छ।

ADVERTISEMENT

एप सार्वजनिक गर्दै डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयोग्य बनाउन प्रविधिको प्रयोगसँगै रात्रिकालीन सेवा विस्तार तथा विद्यार्थीका लागि बिहान सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताइन्।

ADVERTISEMENT

उनले सार्वजनिक यातायात कुनै एउटा स्थानीय तहको मात्र विषय नभएकाले उपत्यकाका पालिकाबीच समन्वय र वित्तीय साझेदारी आवश्यक रहेको बताइन्।

ADVERTISEMENT

बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहजता महसुस गर्ने प्रणाली विकास गर्नुपर्ने बताए।

यसै वर्ष बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका लागि सर्त तथा सम्झौताको मोडेल तयार गर्ने, मुख्य बस स्टप र बसपार्कमा जीपीएस ट्र्याकिङसहित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने तथा नगदरहित भाडा प्रणालीका लागि कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन्।

यात्रुले टिकट लिएर यात्रा गर्ने संस्कार विकास गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धान अघि बढाउने निर्णयसमेत भएको छ। साथै सम्पदा तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले अन्तरसरकारी तहमा समान बुझाइ नहुँदा विगतमा सार्वजनिक यातायातसम्बन्धी कतिपय काम अघि बढाउन नसकिएको बताए। यस वर्ष प्राधिकरणलाई पुनर्संरचना गर्ने सरकारको निर्णयपछि नयाँ कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्मा ३५ सदस्य छन्। कार्यसम्पादनलाई चुस्त बनाउन काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय स्टेयरिङ कमिटीसमेत गठन गरिएको छ।