काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

स्रोतका अनुसार सत्तारुढ कांग्रेसले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न दबाब दिएपछि प्रधानमन्त्री ओलीले आजैको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय गर्न लागेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा कम्तीमा चारजनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा दुईजनाको मृत्यु भएको कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले बताएका छन् । महांकालस्थान नजिकै रहेको ट्रमा सेन्टरमा दुईजनालाई मृतावस्थामा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पुष्टि गरेका छन्।

जेनजी पुस्ताले सरकारको वैधता समाप्त भएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ ।