काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भइरहेको छ । मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य भइरहेको हो ।
जसअन्तर्गत अहिलेसम्म चारवटा पोल जडान गरिसकिएको छ । अब दुईवटा पोल जडान गर्न बाँकी छ । ठेकेदार कम्पनीले एक दुई दिनभित्रै दुईवटा पोल पनि जडान गरिसक्ने जनाएको छ ।
पोल इन्स्टलेसन गरी तिहारभित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना छ । फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।
असारभित्रै फ्लडलाइट जडान गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समयभित्र जडान नभएपछि प्रधानमन्त्री केपी ओलीले चाँडो सक्न निर्देशन दिएका थिए ।
नेपालले अबदेखि खेल्ने सबै क्रिकेट प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै खेल्ने भएको छ ।









