काठमाडौं । एमाले महासचिव शंकर पोखरेल हिजोसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्थे । एमालेमा मदन भण्डारीको विरासत भण्डारीपछि पोखरेलले नै बोक्ने नेता कार्यकर्ता बताउने गर्थे । तर अहिले एमालेमा समीकरण तीव्र रूपमा परिवर्तन भएको छ । विगतमा अध्यक्ष केपी ओली निकट मानिने जति सबै अहिले भण्डारीको समूहमा पुगेका छन् । पहिले मदन भण्डारीका अनुयायी अहिले ओलीको समूहमा आबद्ध छन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति हुनुअघि र शीतल निवासमा छँदासम्म शंकर पोखरेलले राजनीतिक निर्णय उनीसँग सल्लाह नै गरेर गर्ने गर्थे । तर अहिले भण्डारीको एमालेमा सम्भावित पुनरागमन रोक्न पोखरेल नै लागिपरेका छन् । पार्टी विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने विषय महासचिव पोखरेल स्वयंले अघि सारेपछि यो विषयले चर्चा पाएको छ ।

ADVERTISEMENT

बुधबार एमालेको सचिवालयको ५३औं बैठकमा महासचिव पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेका बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले राम्रो नगर्ने भन्दै विषय प्रवेश गराएका थिए। उनले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा प्रवेश गर्दा त्यसले गणतन्त्रमा गर्ने हानिको व्याख्या मात्र गरेनन् विधानमै व्यवस्था गरेर त्यसलाई रोक्नुपर्ने प्रस्ताव पनि अघि सारेको एक नेताले बताए । पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई एमाले राजनीतिमा आउन रोक्नुपर्ने बताएपछि हिजोसम्म उनलाई आदर्श मान्ने नेताहरु चिढिएका छन् । महासचिवले राखेको प्रस्तावको पक्षमा कोही पनि नखुलेको बुझिएको छ ।

कतिसम्म भने शंकर पोखरेलले राखेको प्रस्तावको पक्षमा अध्यक्ष केपी ओलीसमेत सहमत हुन सकेनन् । उनले व्यक्तिलाई लक्षित गरेर पार्टी विधानमै लेख्नु उचित नहुने भनेपछि पोखरेल निराश बनेका थिए । पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्।

ADVERTISEMENT

यसैका लागि लामो समयदेखि देश दौडाहा गरेर नेता–कार्यकर्ता भेटिरहेकी उनले असार ३ गते साँझ बालुवाटार पुगेर ओलीलाई डेढ घन्टा कुराकानी गरेकी थिइन्। त्यसक्रममा भण्डारीले आफू एमालेको राजनीतिमा फर्कने र नेतृत्वका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेकी थिइन्। ओलीले एक कार्यकाल आफै अध्यक्ष बन्ने तयारीमा रहेको भन्दै भण्डारीलाई पार्टीमा फर्कने कुरा नसोच्न भनेका थिए। सोही कारण भण्डारीको पार्टी सदस्यता नवीकरण नगरी होल्डमै राखिएको छ । तर भण्डारीले शनिबार महत्वपूर्ण घोषणा गर्ने तयारी गरेकी छन् ।