काठमाडौं । स्रोत नखुलेको नगदसहित काठमाडौंमा दुईजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित ब्लु नोट कफी बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँसहित दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-५ घर भएका ४७ वर्षीय तारालाल विश्वकर्मा र काठमाडौं महानगरपालिका-१६ बस्ने पर्वत मोदी गाउँपालिका-७ घर भएका ५० वर्षीय होमबहादुर केसी छन् ।
बारमा अभौतिक मुद्रासम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।





