काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवासुविधा त्यागेकी छन् । उनले सरकारले पूर्वराष्ट्रप्रमुखलाई प्रदान गर्दै आएको सेवासुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधबार दर्ता भएको छ । जसअनुसार आजैका दिनदेखि उनले राज्यले दिने कुनै सुविधा नलिने भएकी छन् ।

भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवासुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव भने राजनीतिमा सक्रिय छैनन् । तर उपराष्ट्रपति नन्दबहादुर पुन भने माओवादीको सक्रिय राजनीतिमा आइसकेका छन् । उनलाई माओवादीले उपाध्यक्षको जिम्मेवारी दिएको छ । राज्यको सेवासुविधा लिँदै उनी पार्टीमा सक्रिय भएका छन् ।

भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने मन्त्रालयले जनाएको छ । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीसमेतका लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् । पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको, तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ ।