काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । एमालेले आफ्ना साधारण सदस्यता नवीकरण गर्ने संकेत गरेपछि भण्डारीले सक्रियता बढाएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार दिउँसो भेटघाट गरेका थिए ।
बूढानीलकण्ठ नजिकैको भंगालस्थित निवास भदौ २४ गतेको विध्वंशमा जलाइएपछि पूर्वराष्ट्रपतिको बसोबास बालुवाटारस्थित जेठी छोरी उषाकिरणको निवासमा मिलाइएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारीसँग कुराकानी गर्न उपाध्यक्ष पोखरेल बुधबार बिहान सवा १० बजे बालुुवाटार पुगेका थिए । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने केन्द्रीय सदस्यहरूले माग गरेपछि एमाले अध्यक्ष केपी ओली यो विषयमा नरम भएको बुझिएको छ । एमालेका अन्य दलका नेता पनि भण्डारीलाई भेट्न उनकाे निवास पुग्ने गरेका छन् ।








