ललितपुर । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेको भन्दै आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न आयोगलाई पत्र लेख्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णयसमेत गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए ।

ADVERTISEMENT

बैठकले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको र संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको उनले बताए ।

शिवाकोटीका अनुसार पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

त्यस्तै, आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाइएको विषयको पनि विरोध गरिएको शिवाकोटीले बताए ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका पूर्ण निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।