काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने एन–ट्याग अब सानिमा बैंक लिमिटेडका देशभरका शाखाबाट उपलब्ध हुने भएको छ।
नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गमा लागू गरिएको विद्युतीय टोल सङ्कलन (इलेक्ट्रोनिक टोल कलेक्सन) प्रणालीअन्तर्गत प्रयोग हुने एन–ट्याग बैंकका सबै शाखाबाट लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्यागलाई सुरुङमार्गको प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले स्वतः पहिचान गर्नेछन्। यसबाट टोल शुल्क सम्बन्धित ट्यागबाटै कट्टा हुने र गेट स्वतः खुल्ने व्यवस्था छ। यसले यात्रुलाई टोल भुक्तानीका लागि लाइनमा बस्नुपर्ने झन्झट हटाउनुका साथै यात्रा छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।
सवारीधनीले सानिमा बैंकको जुनसुकै शाखामा गएर एन–ट्याग लिन सक्नेछन्। एन–ट्यागमा इसेवा, फोनपे र बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम रिचार्ज गर्न सकिने बैंकले जनाएको छ।
बैंकले काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशभरका शाखा सञ्जालमार्फत सेवा उपलब्ध गराएको छ। यसबाट उपत्यकाबाहिरका सवारीधनीले समेत आफ्नो नजिकैको शाखाबाट एन–ट्याग लिन सक्नेछन्।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु गौरवको विषय भएको बताए। बैंकको फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन प्रतिबद्ध रहेको उनको भनाइ छ।
एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि सानिमा बैंकको नजिकैको शाखा, ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।












