काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बन्न र नियामक निकायलाई आफ्नो कानुनी अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।
दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको दायित्व भएको उनले बताए। लामो समयदेखि सेवा विस्तार र पहुँच बढाउने काम भए पनि उपभोक्ताले अपेक्षाअनुसार गुणस्तरीय सेवा पाउन नसकेको उनको भनाइ थियो।
‘गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने, ‘इन्टरनेट सेवा राम्रो नभए नागरिक गुणस्तरीय फोन र इन्टरनेट पहुँचबाट वञ्चित हुन्छन्। त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन।’
मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्रै प्राथमिकता दिन नहुने बताए। अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
गुणस्तरीय सेवा दिएर मात्रै व्यवसायबाट नाफा कमाउने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो। सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उनले बताए।
निर्देशन र पत्राचारले मात्रै सेवा सुधार नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गल्ती गर्ने पक्षले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए।
उनले कानुन र सेवा सर्त उल्लङ्घन गर्ने दूरसञ्चार सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसमेत दिए।












