काठमाडौँ । सरकारले टेलिफोन तथा इन्टरनेट सेवालाई थप भरपर्दो र गुणस्तरीय बनाउन मोबाइल टावर विस्तार, उपकरण थप र विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा विस्तार र सुधारका लागि नेपाल टेलिकमलाई विस्तृत कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइएको बताए।

ADVERTISEMENT

उनका अनुसार चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउने तयारी छ।

ADVERTISEMENT

मोबाइल सेवाको पहुँच र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले नयाँ २०० वटा टावर निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। टावर निर्माणसम्बन्धी बोलपत्र अहिले मूल्याङ्कनको चरणमा रहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने उनले बताए।

ADVERTISEMENT

ग्रामीण क्षेत्रमा १० घण्टासम्म ब्याकअप

विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा बन्द हुने समस्या समाधान गर्न नेपाल टेलिकमका टावरमा पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको मन्त्री तिमिल्सिनाले बताए।

उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ। यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा तथा सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म मोबाइल सेवा सञ्चालन गर्न सकिनेछ।

हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उनले बताए। थप २०० थान ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, ३२ वटा विद्यमान सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता बढाउने काम पनि अघि बढाइएको छ। सम्भव भएसम्म त्यस्ता सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रीले जानकारी दिए।

टेलिकमका उपकरण चोरी र तोडफोडमा कडाइ

राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटबाट ब्याट्री, उपकरण र ब्याट्री जोड्ने तार चोरी हुने तथा टावरमा भौतिक क्षति पुर्‍याउने घटना हुने गरेको मन्त्री तिमिल्सिनाले बताए।

यस्ता घटनाका कारण दूरसञ्चार सेवा पटक–पटक प्रभावित हुने गरेको भन्दै उनले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने र चोरी गर्ने व्यक्तिमाथि कडा कारबाही गरिने बताए।

भोटेकोसी बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाख क्षति

मन्त्री तिमिल्सिनाले भोटेकोसी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी संसद्लाई गराए।