काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा समेत सुधार आउनेछ।

ADVERTISEMENT

बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

ADVERTISEMENT

त्यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

ADVERTISEMENT

सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रुपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको छ। देशभर फोरजी सेवाको पहुँच विस्तार गर्ने, टेलिफोन सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य सरकारले राखेको छ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई डिजिटल प्रविधिमा आधारित गुणस्तरीय सञ्चार सेवामा जोड्ने उद्देश्यअनुसार दूरसञ्चार सेवा नपुगेका तथा थप सेवा आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ।