मुस्ताङ । जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकमा घाँसको उपलब्धता र गुणस्तर घट्न थालेपछि दुर्लभ वन्यजन्तु हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
नाउरको आहारा र बासस्थानमा परेको असर पहिचान गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले उच्चलेकका चरन क्षेत्रमा घाँसको अध्ययन तथा नमुना सङ्कलन सुरु गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत एक्यापका जोमसोम र लोमान्थाङ कार्यालयले छुट्टाछुट्टै क्षेत्रमा सर्वेक्षण गरिरहेका छन्। हिउँ चितुवाको प्रमुख आहारा नाउरको संरक्षण र सङ्ख्या वृद्धि गर्ने उद्देश्यले चरन क्षेत्रको अवस्था, घाँसका प्रजाति, जैविक पदार्थ र पोषण तत्त्वको अध्ययन थालिएको एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिए।
मुस्ताङको तल्लो क्षेत्रमा वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका २४ वटा खण्ड तथा ४८ वटा उपखण्डबाट घाँसका नमुना सङ्कलन भइरहेको छ। साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रलाई अध्ययनमा समेटिएको छ।
त्यस्तै, उपल्लो मुस्ताङमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १५० वटा खण्डबाट नमुना सङ्कलन भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए। यसअघि हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन भइरहेको छ।
सर्वेक्षणका क्रममा हरियो र सुकेको घाँसको तौल मापन गरी नमुना प्रयोगशालामा पठाइनेछ। प्रयोगशाला परीक्षणबाट घाँसमा पाइने पोषण तत्त्व र गुणस्तर पहिचान गरिनेछ। यसले नाउरका लागि आवश्यक आहाराको उपलब्धता र गुणस्तर सुधार गर्ने उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिउँ चितुवाको आहारा प्रजाति नाउरको शारीरिक अवस्था, मोटोपन र प्रजनन क्षमतामा आहाराको गुणस्तरले पार्ने प्रभावसमेत अध्ययन गरिने पौडेलले बताए।
पछिल्ला वर्षमा उच्चलेकका पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिनु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्याले नाउरको बासस्थान र आहारामा असर पारेको छ। गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन्।
यसले स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिमसमेत बढाएको छ। आहाराको अभाव र बासस्थानमा आएको परिवर्तनले मानव तथा वन्यजन्तुबीचको द्वन्द्व बढाउने चिन्ता पनि थपिएको छ।
चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता बढाउने, मिचाहा प्रजाति नियन्त्रण गर्ने र चरिचरनलाई व्यवस्थित बनाउने कामले नाउरको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम राख्न पनि यस्तो अध्ययन महत्त्वपूर्ण मानिएको छ।












